Section 3
नियम बनाउने अधिकार

(१) यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउने सक्नेछ ।
(२) उपदफा (१) ले दिएको सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी खास गरी देहायका विषयमा नियमहरू बनाउन सकिनेछ ः–
(क) नेपाल को कुनै स्थानमा विमानस्थल स्थापना गर्न पाउने अवस्था, सो को लागि अनुमति दिने र दस्तूर तोक्ने सम्बन्धमा ।
(ख) नेपाल को हवाई क्षेत्रको कुनै भागमा वायुयान उडान पूर्ण रूपमा मनाही गर्ने वा कुनै खास अवस्थामा र समयमा मात्र उडान गर्न पाउने सम्बन्धमा ।
(ग) हवाई उडानको सन्दर्भमा सर्वसाधारणको जीउ ज्यानको रक्षाको लागि आवश्यक कुनै उपाय अवलम्बन गर्ने सम्बन्धमा ।
(घ) विमानस्थल निर्माण तथा सञ्चालन गर्ने सन्दर्भमा कसैको घर, भवन, टहरा, टावर इत्यादि पूरै वा केही भत्कने भएमा वा विमानस्थल तथा विमानस्थल क्षेत्रको जग्गामा हुने कुनै किसिमको निर्माण कार्यलाई नियमित, नियन्त्रण वा निषेध गर्दा पर्न जाने हानी नोक्सानी वापतको क्षतिपूर्तिको रकम निर्धारित गर्ने तरिका तथा अधिकारी तोक्ने र क्षतिपूर्ति दिने सम्बन्धमा ।
(ङ) वायुयानद्वारा कुनै पदार्थ ओसार पसार गर्न मनाही, नियन्त्रण, निषेध र नियमित गर्ने सम्बन्धमा ।
(च) वायुसेवा सञ्चालन संस्था, हवाई उडानसम्बन्धी प्रशिक्षण संस्था (फ्लाइङ्ग स्कूल) र वायुयान तथा वायुयानको पार्टपूर्जाको उत्पादन, मर्मत तथा परीक्षण सहितका विस्तृत मर्मत (ओभरहल) गर्ने संस्थालाई इजाजत दिने सम्बन्धमा ।
(छ) वायुयानको खोजतलास तथा उद्धार कार्य सञ्चालन गर्ने सम्बन्धमा ।
(ज) वायुयानको आवाज नियन्त्रण गर्ने र वायुयान सन्चालनबाट वातावरणलाई दुषित हुनबाट रोक लगाउने सम्बन्धमा ।